समाचार
घिउ वितरण कार्यक्रम
कमलामाई नगरपालिकाको नवौं नगरसभाबाट स्वीकृत आ.व. ०७८/७९को बजेट तथा कार्यक्रम अन्तर्गत मिति २०७८ साल भाद्र २७ गते कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्री, नगर उप-प्रमुख श्री मञ्जु देवकोटा, स्वास्थ्य शाखा प्रमुख श्री केम थापा र शहरी स्वास्थ्य चौकीका कर्मचारीहरुको उपस्थितमा कमलामाई नगरपालिका वडा नं. १४ का १४ जना सुत्केरी महिला र वडा नं. ९ का ४ जना सुत्केरी महिलाहरुलाई २ केजी घिउ वितरण कार्यक्रमको सुरुवात गरिएको छ । कमलामाई नगरपालिकाको नीति तथा कार्यक्रममा प्राथमिकतामा रहेका सुत्केरी महिलाहरुलाई घिउ वितरण कार्यक्रमका लागि आ.व. ०७८/७९ को बजेट तथा कार्यक्रमको रु. २००००००/- रकम विनियोजन गरिएको छ ।
सुत्केरी महिलाहरुलाई घिउ वितरण कार्यक्रम सुत्केरी भएका महिलाहरुलाई स्वास्थ्य संस्थाबाटै दक्ष प्रसुति कर्मिद्वारा प्रसुति गराउन, प्रसुति अवस्थामा हुन सक्ने जोखिमहरुलाई कम गराउन, आमा तथा बच्चाको स्वास्थ्य सुरक्षा गर्न र आवश्यक पोष्टिक तत्व प्रदान गर्नका गरिएको हो ।
सुत्केरी महिलाहरुले घिउ लिनको लागि नजिकैको स्वास्थ्य केन्द्रमा गर्भ परीक्षणको प्रतिलिपी र जन्म दर्ता लिई जानु पर्नेछ । २०७८ साउन देखि सुत्केरी भएका सुत्केरी महिलाहरुलाई मात्र घिउ वितरण गरिनेछ । सुत्केरी भएका महिलाहरुले घिउ लिनको लागि सुत्केरी भएको मितिले दुई महिना भित्र आवश्यक कागजपत्र पत्र पेश गर्नु पर्नेछ ।