FAQs Complain Problems

मकर संक्रान्तिकाे शुभकामना

मकर संक्रान्तिकाे शुभकामना

नगरवासी आदरणीय सम्पूर्ण महानुभावहरु, आज हामी तमाम नेपालीहरुको पवित्र चाड माघे संक्रान्तिको भक्तिपूर्ण र उत्सवमय दिनमा छौं । मकर संक्रान्ती, माघे संक्रान्ती, माघी, तीलुवा संक्रान्ती जे जती नामले यस पर्वलाई पुकारेपनि हामी तमाम नेपालीहरु आज देवस्थल होस् वा नदी संगमस्थल होस् वा घर वरपर स्थापित भएका मठमन्दिरहरुमा होस जम्मा भएर आ–आफ्नो रिती रिवाज र संस्कारले आजको दिनको अनुष्ठान गरिरहेका छौं ।

म कमलामाई नगरपालिकाको नगर प्रमुखको हैसियतले यहाँहरुको आजको दिन मंगलमय होस्, आरोग्यताले अविच्छिन्न साथ दिओस, चिताएका र त्यस अनुरुपको चिन्तनलाई तपाईहरुको आँटको माध्यमबाट शुरु गरेका हरेक कर्महरु यथार्थमा परिणत होस् भन्ने शुभकामना दिन चाहन्छु ।

सिन्धुलीमा माघे संक्रान्ति विशेष दिन हो । परापूर्वकालदेखि कमलामाई नरगपालिका ५ स्थित माइस्थानमा अथाह भक्तजनको सहभागितामा विशाल अनुष्ठान र तिर्थाटनको कार्य हुदै आइरहेको छ । आजकै दिन यस पवित्र स्थलमा मनका चाहनाहरु पुरा हुने आशामा साना ठूला सवैले भाकल गर्ने गर्दछन् ।

नेपालका तत्कालिन मुख्तियार भिमसेन थापा र कोतपर्वका नायक एवं श्री ३ जंगबहादुर राणाले भाकल गरेर अर्पण गरेका जिनिसहरु अध्यावधिक मन्दिरको सम्पत्तीको रुपमा छ । वडामाहाराजाधिराज पृथ्वीनारायण शाहलाई आजकै पवित्र दिन हरिहरपुरगढी नगिचैको खुँडाघाटमा मकवानी राजा हेमकर्ण सेनले पारिवारिक सम्बन्धलाई मजवुत वनाउने ध्येयले आमन्त्रण र आतिथ्यता प्रदान गरेका थिए । यही आतिथ्यतामा खलल पुग्न गई जिजिविषाको अदभ्य अठोट लिएका तत्कालीन युवराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानलाई शुरु गरेका थिए ।

कमलामाई शक्ति पिठमा आजको दिन अनुष्ठान गर्नुको एकमात्र धेय देवीसँग मनका कुरा भाकनु वा भाकल गर्नु हो । पुर्वजदेखिको अनुष्ठानको अभिप्राय र सान्दर्भिकता प्रति म पनि विश्वास र नियमितता दिन चाहन्छु । म राजनितिक कर्मी र हाल सरकारको आधारशिला कायम रहेको स्थानीय सरकारको प्रमुखको पदमा हैसियत कायम रहेको अवस्थामा आफ्नो नगरकी अनी जिल्लाकी पवित्र र पुज्य शक्ति पिठ कमलामाईसँग हाल देशको राजनितीमा देखिएको ब्यक्तित्व टकराव, राजनीतिक गतिरोध, वैमनष्यता, स्वार्थ र अभिमान जस्ता अस्वभाविक र असान्दर्भिक गतिविधीहरुको शिघ्रातिशिघ्र अन्त्य भई नेतृत्व वर्गहरुमा “देशको समृद्धि पहिले” भन्ने भावना जागृत गराउन भाकल गर्दछु ।

कमलामाई नगरपालिकाले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउने गरी नगरब्यापी सार्वजनिक विदा गरेकोमा यस वर्ष नेपाल सरकारले पनि यही दिनमा विदा समेत दिएर नगरको प्रयासलाई सान्दर्भिकता समेत दिएको छ । नेपाल सरकार प्रति कमलामाई नगरपालिको तर्फबाट हार्दिक कृतज्ञता समेत गर्दछु ।

अन्तमा सम्पूर्ण देशवासीहरु, जिल्लाबासीहरु र कमलामाई नगरपालिकाका नगरवासी बुवाआमा, दिदीवैनी दाजुभाईहरुमा आजको पवित्र दिनको सुखद अवसरमा सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद् ।

खड्गबहादुर खत्री

नगर प्रमुख